काठमाडौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्दो रूपमा देखिएको बताउनुभएको छ ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले एकातर्फ वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त हुँदा अर्कोतर्फ मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको बताउनु भयो । उहाँले वनभित्रै रमाउने गरी वन जन्तुको संरक्षण गर्न घाँसे मैदान र पानीको स्रोतको व्यवस्थापन जस्ता वासस्थानका सुधारका कार्यक्रमहरू राखिएको जिकिर गर्नुभयो ।
मन्त्री ठकुरीले वनको अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण तथा वन पैदावारको निकासी नियन्त्रण जस्ता वन संरक्षणका कार्यक्रमहरू प्रदेश सरकारको समन्वयमा कार्यान्वयन गरिँदै आएको बताउनुभयो । उहाँले संरक्षित क्षेत्रभित्र हुने वन अतिक्रमण, वन डढेलो र वन स्रोत तथा वन्यजन्तुको चोरी निकासी नियन्त्रणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा अन्तर्गतका कार्यालयहरूबाट कार्यान्वयन हुने गरी बजेटको पर्याप्त व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले अर्थतन्त्रमा वनको योगदानको उल्लेख्य वृद्धि गर्न वनमा आधारित उद्योग, उद्यमशीलता, प्रकृतिमा आधारित पर्या–पर्यटनको विकासमा सहजीकरण गरिने बताउनु भयो ।