नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा डाइभर्सन बगाएको छ । विनयी खोलामा निर्माण गरिएको डाइभर्सन मंगलबार राति आएको पानीले बगाएको हो । डाईभर्सन बगाएपछि यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन होङ्सीगेटबाट सर्दी हुँदै वैकल्पिक सडकबाट सञ्चालन गरिएको छ । मालबाहक ठूला सवारी साधन भने रोकिएका छन् ।
गत पुस २६ गते ओभरलोडको भारतीय लहरीको ठक्करबाट पुल भासिएपछि डाइभर्सनमार्फत् यातायात सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताउनु भयो ।
खोलामा पानीको सतह घटेपछि डाइभर्सन मर्मतको काम गर्ने तयारी छ । घुमाउरो सडक भएर यातायात चल्दा दाउन्नेमा सवारीको जाम लागेको छ । सडक विभाग र स्थानीय प्रशासनले बर्षाको समयमा नारायणगढ-बुटवल सडक खण्डको यात्रा नगरेर बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।