काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताउनुभएको छ ।
सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरूले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको बताउनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरू यातायात व्यवसायीहरूले गरिरहेकाले त्यो गलत भएको बताउनु भयो ।
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को 'ज' तत्काल खारेजीको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका छन ।
उहाँले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पु¥याएकाले बाँकी कुराहरू विधेयकमार्फत् सम्बोधन हुने बताउनु भयो । जिम्मेवार भएर सहमतिअनुसार यातायात सञ्चालन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
मन्त्री दाहालले यातायात व्यवसायीहरूले बन्द गरिरहेको यातायातहरू सञ्चालन गर्नुपर्ने बताउनु भयो । केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने उहाँकाे भनाइ छ।