यातायात व्यवसायीको आन्दोलनले रामेछापमा आज पनि सार्वजनिक यातायात ठप्प

जेष्ठ २०, २०८२ |नवराज श्रेष्ठ
यातायात व्यवसायीको आन्दोलनले रामेछापमा आज पनि सार्वजनिक यातायात ठप्प

रामेछाप । यातायात व्यवसायीको आन्दोलनले आज पनि रामेछापमा सार्वजनिक यातायातका साधन चलेका छैनन् ।

गण्डकी प्रदेश सरकारले गरेको निजी सवारी साधनलाई ‘राइड सेयरिङ’मार्फत् यात्रु ओसार्न कानुनी मान्यता दिने निर्णयको विरोधसहित अन्य विभिन्न माग राखी रामेछापका सार्वजनिक यातायात व्यवसायी साेमबारबाट आन्दोलनमा छन ।

सार्वजनिक सवारी नचलेपछि सदरमुकाम मन्थलीदेखि गाउँ घरसम्मको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक कामले गन्तव्य पुग्नुपर्ने यात्रुहरूलाई समस्या भएको छ । 

परीक्षा चलिरहेका विद्यार्थीहरू सबैभन्दा बढी समस्यामा परेका छन्। यातायात व्यवसायीको माग पूरा नभएकाले आफूहरूको आन्दोलन आज पनि जारी रहेको अरनिको यातायात प्रालि मन्थलीका प्रमुख सुवास फुयाँलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यातायात व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिएका छन्। समस्या शीघ्र समाधान नभए आन्दोलन अझै सशक्त बन्छ । यसमा सरकार समयमै गम्भीर बन्नुपर्छ । यसबाट यात्रु महानुभावहरूमा पर्न गएको असर र असुविधाप्रति हामी क्षमा चाहन्छौँ।”

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ साल जेठ १ गते जारी गरेको राजपत्रमा निजी सवारी साधन (रातो नम्बर प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ‘ज’ तत्काल खारेजीको माग गरी यातायात व्यवसायीले आन्दोलन गरिरहेको छ ।

सर्वोच्च अदालतबाट सङ्घ संस्था दर्ता ऐन २०३४ मा रहेका सङ्घ समिति नवीकरण सम्पत्ति फुकुवाको मिति २०८० चैत २० गतेको परमादेश तत्काल कार्यान्वयन हुनुपर्ने, सवारी ऐन २०४९ संशोधनको क्रममा रहेको हुँदा नेपाल सरकारसँग यातायात व्यवसायी महासङ्घहरू र मजदुर सङ्घ सङ्गठन हरूसँग विभिन्न मितिमा भएको सम्झौता सहमतिहरू र नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरू यथाशीघ्र कार्यान्वयन हुनुपर्ने लगायतका ७ बुँदे यातायात व्यवसायीहरूको माग छ ।

हिजो राति अबेरसम्म चलेको सरकार र यातायात व्यवसायीबिचको वार्तामा सहमति हुन सकेन । आज बिहान साढे १० बजे फेरी वार्ता हुने बताइएको छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।