काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन सुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता, सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, “मनसुन सुरु हुन लाग्यो । यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता, सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गर्दछु ।”
उहाँले अब हामीलाई विकास निर्माण मात्र नभई दिगो विकास चाहिएको र आगामी पुस्तालाई स्वच्छ र सुरक्षित नेपाल हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य भएको पनि बताउनुभयो ।
सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरू कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रहरूमा गम्भीर असर पुर्याएको बताउनुभयो । यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको जिकिर गर्नुभयो ।
उहाँले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता भएको पनि बताउनुभयो । साथै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै राजनीतिक दलहरूको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको पनि उहाँको भनाइ थियो ।