संसद् बैठक आधा घण्टाका लागि स्थगित

जेष्ठ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूको अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

बिहान ११ बजे बोलाइए पनि ढिलागरी १ बजे सुरू भएको बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेपछि अवरोध कायमै रहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।

यसअघि संसद्को अवरोधका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । संसद् भवनमा विपक्षी दलको बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले दाहाललाई फोन गरी संसद्को अवरोध खुलाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

दाहालले भने भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको थियो । सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पनि संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । 

यस्तै, सदनको अवरोध हटाउनेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेट भएको थियो । हिजो प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए । 

त्यसपछि अवरूद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबीच सहमति हुन नसक्दा आज बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.