गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानबिन समिति चाहियो : रास्वपा

जेष्ठ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानबिन समिति चाहियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्नेमा आफूहरू अडिग रहेको बताउनुभयो ।

प्रमुख सचेतक परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताउनुभयो ।

उहाँले जिम्मेवार राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महसुस गरेर संसद्‌मा बजेट प्रस्तुत गर्न दिएको र आफ्ना मुद्दा सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुपर्‍यो । अनि मात्रै सदन अगाडि जान्छ । अनि मात्रै अरू काम हुन्छ । हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरू, घटनासँग सम्बन्धित कुराहरू आएका छन् । त्यो कुराहरू पनि हामी सदनमा जानकारी गराउँछौं । हाम्रो आन्दोलन जारी राख्छौं । राजीनामा, जवाफ चाहियो, छानबिन समिति बन्नुपर्‍यो ।”

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौं असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै उहाँको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.