प्रधानमन्त्रीको भड्काउ अभिव्यक्ति, तनावपूर्ण हुन सक्छ स्थिति

जेष्ठ १२, २०८२ |किरण पौडेल
प्रधानमन्त्रीको भड्काउ अभिव्यक्ति, तनावपूर्ण हुन सक्छ स्थिति

काठमाडौं । प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई दिएको निर्देशनका कारण आउने जेठ १५ गते काठमाडौंको अवस्था कस्तो होला भन्ने शंसय बढाएको छ । राजसंस्था पक्षधरहरूले आन्दोलन गर्ने भनेकै दिन एमालेका कार्यकर्तालाई शक्ति प्रदर्शनमा उत्रिन ओलीले दिएको निर्देशनले गणतन्त्र दिवसको दिन स्थिति तनावपूर्ण हुने त होइन भन्ने भय बढाएको हो ।

जेठ १५ गते अर्थात् गणतन्त्र दिवसकै दिन पारेर राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको कार्यक्रम राखेको छ । त्यही दिन नेकपा एमालेले समेत शक्ति प्रदर्शनको तयारी गरेको छ । राप्रपाले शान्तिपूर्ण आन्दोलन गर्ने उद्घोष गर्दा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले भने त्यस दिन काठमाडौं उपत्यका नै नियन्त्रणमा लिन कार्यकर्ता पङ्क्तिलाई निर्देशन नै दिनुभएको छ । 

प्रधानमन्त्रीको यस्तो निर्देशनको आलोचना त भएको छ नै, यस्तो निर्देशनले कार्यकर्ता भड्काउने र मुठभेडको स्थिति समेत सिर्जना हुन सक्ने सम्भावना बढाएको छ ।

यसअघि पनि अर्को कुनै शक्तिले आन्दोलनको कार्यक्रम राखेकै दिन ओलीकै निर्देशनमा एमालेका कार्यकर्ता सडक प्रदर्शनमा उत्रिँदा झडपको स्थिति सिर्जना भएको थियो । चैत १५ मा पनि समाजवादी मोर्चाले कार्यक्रम राखेकै दिन राजसंस्था पक्षधर समूहको प्रदर्शनलाई अनुमति दिँदा गृह मन्त्रालय आलोचित भएको थियो । यस पटक प्रधानमन्त्रीले नै मुठभेडमै उत्रिनु भन्ने शैलीमा कार्यकर्तालाई दिएको निर्देशन र पार्टीले गरेको सर्कुलरले शंका पैदा भएको छ ।

एमालेले गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई आह्वान गरिएको प्रस्टोक्ति दिएको छ । तर एमालेले सो दिन देशैभरिबाट आफ्ना कार्यकर्तालाई काठमाडौं बोलाएको छ । प्रदेश स्तरमै कमान्डर तोकेर एमालेले प्रदर्शनको तयारी तयारी गरेको हो ।

राप्रपाले भने संविधानप्रदत्त अधिकार अन्तर्गत नै शान्तिपूर्ण प्रदशन गर्ने तर प्रधानमन्त्रीको अभिव्यक्तिले आन्दोलन बिथोल्न खोजेको आरोप लगाएको छ ।

जेठ १५ गते बिहान ११ बजे भृकुटीमण्डपमा झाँकी र जुलुस गर्ने एमालेको तयारी छ भने रत्नपार्क क्षेत्रमा राप्रपाको प्रदर्शनको तयारी छ । त्यस दिन काठमाडौंको सुरक्षा व्यवस्था कस्तो हुनेछ ? सुरक्षा प्रशासन अझै तयारी नै गरिरहेको छ । किनभने त्यसै दिन गणतन्त्र दिवसको अवसरमा सरकारको औपचारिक समारोह मात्र होइन, संसद्‌मा आगामी आर्थिक वर्षको लागि सरकारले बजेट पेश गर्ने कार्यक्रम पनि छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।