प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : मानवअधिकार आयोग

जेष्ठ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेठ १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ' भनेर दिएको अभिव्यक्ति चिन्ताजनक रहेको जनाएको छ । आयोगले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भड्काउ अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेको हो । 

देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु रहेको आयोगको ठहर छ । शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध नगरेको आयोगले स्मरण गराएको छ । 

आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन र अरू व्यक्ति समूह वा पार्टीलक्ष्यित नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गरेको छ । यस्तै, सुरक्षा निकायले राजधानी लगायत क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन पनि आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.