काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरू नगर्न चेतावनी दिनुभएको छ । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो ।
उहाँले अहिलेका आन्दोलनहरू केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गर्दै पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा हुनुभएको र उहाँले गरेका काम पनि देखेको बताउनुभयो । कुनै प्रकारका जनविरोधी क्रियाकलापहरूको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन । यी ट्वार ट्वारहरू अलिक समयका ट्वार ट्वार टुर टुर हुन् । पछि आफैं समाप्त हुन्छन् । हामीले पहिला पनि देखेका हौं । अढाइ सय वर्षदेखि देखेका हौं । अढाइ सय वर्षमा के के भए । म त्यतापट्टि जान चाहन्नँ । हामीले देखेका हौं राजतन्त्र । त्यस बाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका छौं ।”