काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको उल्लेख गर्दै अस्थिरता निम्त्याउनेहरूलाई देख्न-बुझ्न नसकिएको र चिने पनि झन् ठूलो विपद् निम्तिने डरले भन्न नसकिएको बताउनुभएको छ । चार पटक प्रधानमन्त्री बनेका ओलीले काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अस्थिरताको कारक कहीँ कतै आफू पनि बनेको सन्दर्भलाई भने स्वीकार्नुभएन ।
बरु नेकपाकालमा आफ्नै नेतृत्वको दुईतिहाइको सरकार हुँदा पार्टीभित्रको किचलोले संसद् विघटन गरेको विषयलाई अदालततिरै दोषारोपण गर्नुभयो ।
पूर्वयोजनाकार मञ्च नेपालले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको मूल स्रोत यकिन गर्न कठिन भइरहेको र चिने पनि भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
तर अस्थिरता निम्त्याउनेहरूबारे सत्य बोल्दा कस्तो विपद् निम्तिन्छ, त्यसबारे भने उहाँले कुनै खुलासा गर्नुभएन ।
प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताकै कारण पाँच वर्षसम्म कुनै सरकार नटिकेको दाबी गर्नुभयो । तर अघिल्लो कार्यकालमा आफूले अल्पायुमै संसद् विघटन गरेको सन्दर्भलाई भने उहाँले अस्थिरता देख्नुभएन । बरु अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको प्रसङ्गमा असन्तुष्टि पोख्नुभयो । त्यसैलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले कहीँ नसके पनि अदालतमा लगेर पछार्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । अदालतमा गएपछि जवाफै दिन पाउने अवस्था पनि नभएको उहाँले भनाइ छ ।
पहिल्यै प्रधानमन्त्रीको कार्यकाल बाँडेर कांग्रेससँग सत्ता साझेदारी गरेको प्रसङ्गमा उहाँले कोही कसैलाई भने बारम्बार मौका जुर्ने उल्लेख गर्नुभयो । पाँच पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अब १४ महिनापछि आफूले किस्तीमा राखेर सत्ताको साँचो धुमधामका साथ हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
डेढ महिनादेखि राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्नुको खास कारण नखुलाए पनि प्रधानमन्त्री ओलीले आफ्नो उम्मेदवार नभएको र योग्यताका आधारमा नियुक्ति गर्नुपर्ने उल्लेख गर्नुभयो । तर दुई-दुई पटक सिफारिस समिति पुनर्गठन गरेर कसलाई गभर्नर बनाउन खोजिएको हो त्यसको अन्तर्य भने उहाँले खुलाउनुभएन ।