पुटिनलाई नेपाल भ्रमणको निम्तो, रूसी सेनामा नेपाली भर्ना नगर्न आग्रह

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुटिनलाई नेपाल भ्रमणको निम्तो, रूसी सेनामा नेपाली भर्ना नगर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रूसी महासङ्घ अन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रूसबीचको मित्रवत् सम्बन्धका विविध आयामबारे छलफल भएको छ । 

प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिनुभयो भने प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गर्नुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले नेपाल र रूसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रूसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गर्नुभयो । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगराइने विश्वास दिलाउनुभयो ।

भेटका अवसरमा नेपालस्थित रूसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.