काठमाडौं । नेकपा (एमाले) सांसद रणकुमारी बलम्पाकी मगरले सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी दलहरूसँग आग्रह गर्नुभएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा नबिर्सिन आग्रह गर्नुभयो ।
उहाँले सत्ता पक्षमा हुँदा भ्रष्टाचार र विचौलिया, अपारदर्शी, अनियमितताका कुरामा चुइँक्क नबोल्ने र विपक्षीमा पुगेपछि जति सकिन्छ, झुटो लाञ्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरू गरेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगत २८ महिनादेखि म लगायत हामी कहिले सत्ता पक्ष, कहिले विपक्षमा रहेर जन सरोकारका सवालहरू उठाउँदै आएका छाैँ । मलाई के अचम्म लाग्छ भने सत्ता पक्ष हुँदा भ्रष्टाचार र विचौलिया, अपारदर्शी, अनियमितताका कुरामा चुइँक्क नबोल्ने माननीयहरू विपक्षी बेन्चमा पुग्ने बित्तिकै सरकारलाई जति सकिन्छ, झुटो लाञ्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरू गर्नुहुन्छ, यो कति सान्दर्भिक हो ? प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा किन बिर्सिएको ? सस्तो प्रचार र मिडियामा खपतका लागि अभिव्यक्ति नदिए हुन्थ्यो ।’
सांसद मगरले संसद र संसदीय समितिलाई आरोप र प्रत्यारोपको दोहोरी खेल्ने ठाउँ नबनाउन आग्रह गर्नुभयो ।