काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले प्रि मनसुन सुरू भएको र राजमार्गमा त्रास रहेको बताउनु भयो ।
उहाँले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७ सय ३२ वटा विपद्का घटनाहरू भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताउनु भयो । सरकारका आपसी निकायहरूका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उहाँको भनाइ छ ।
सांसद सापकोटाले भन्नुभयो, ‘प्रि मनसुन सुरू भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास छ । वैशाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरू भए । २१ जनाकाे मृत्यु भयो । अनुमानित १७ करोडको क्षति हुन पुग्यो । सरकारका आपसी निकायहरूका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएको छ । तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र छन ।’
सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताउनु भयो ।