काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेको छ ।
गत माघ १५ गते जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेर सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसपछि उच्च सरकारी वकिल कार्यालयले मुद्दा नचलाउन सिफारिससहित स्वीकृतिका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।
तर, जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय महान्यायधिवक्ता कार्यालयले उल्टाउँदै मुद्दा चलाउने निर्णय गरेको महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो ।
रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट आएको र सोही अनुरुप मुद्दा अघि बढ्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेले जानकारी दिनुभयो ।
बाल संगठनको जग्गा सस्तो मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको आरोप प्रतिवादीहरूमाथि छ ।
बाल संगठनले आफ्नो जग्गा सस्तोमा भाडामा दिएको र १७ वर्ष सम्झौता अवधि बाँकि छँदै पुन: थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनका पूर्वपदाधिकारी विरुद्ध ठगी आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा (सीआईबी)मा उजुरी परेको थियो ।