बर्दियाका वन आसपासका बस्तीमा चितुवा आतंक, मंसीरयता तीन जनाको मृत्यु

वैशाख २३, २०८२ |कमल पन्थी
बर्दियाका वन आसपासका बस्तीमा चितुवा आतंक, मंसीरयता तीन जनाको मृत्यु

बर्दिया । संरक्षित वन क्षेत्र नजिकै मानव बस्ती हुनु र जङ्गल क्षेत्र र आहार घट्नु जस्ता कारणले जंगली जनावर र मानवबीच द्वन्द्व बढेको छ । बर्दियामा मंसीरयता मात्रै चितुवाको आक्रमणमा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । चितुवा समात्न खोर बनाइए पनि प्रभावकारी देखिएको छैन । जसका कारण वन क्षेत्र आसपासका बासिन्दा त्रसित छन् ।

बर्दियाको गुलरिया नगरपालिका- ५ बालापुरमा गत चैत २० गते ७ वर्षीय सृजन चौधरीलाई चितुवाले आक्रमण गरी घाइते बनायो । हजुरआमा गोबरी थरुनीसँग खेतमा सिँचाइ गर्न गएको समयमा चितुवाले आक्रमण गरेको हो । नाति कराएको सुनेर दौडेर हजुरआमाले उद्धार गरिन् । सृजनको नेपालगन्जमा उपचार भइरहेको छ । घाँटीमा आक्रमण गरेका कारण उपचाररत सृजनको आवाज जोखिममा छ ।

गएको वैशाख १५ गते गुलरिया नगरपालिका-८ स्थित सर्यु सामुदायिक वनमा काकीसँग दाउरा बटुल्न गएकी गेरुवा गाउँपालिका-६ की मेलिना खड्कालाई चितुवाले आक्रमण गर्दा ज्यान गयो । मेलिनाको ज्यान गएपछि गाउँबस्ती त्रासमा छ । अझै त्यो हिंस्रक चितुवा बस्तीवरिपरि घुमिरहेको स्थानीय बताउँछन् ।

चितुवा आहारको कमीले प्रायः वन छाडेर बस्ती पस्ने गरेको छ । बाख्रा लगायतका बस्तुभाउ सजिलै गाउँबस्तीमा पाउने भएकाले चितुवा वनबाट गाउँबस्ती डुल्ने क्रम बढेको हो । चितुवा समात्न क्रेज व्यवस्था गरिए पनि नियन्त्रणमा आएको छैन । बाख्रा समेत राखेर समात्ने प्रयास वनका कर्मचारीले गरेका छन् । दुई वटा क्यामेरामा २ वटा चितुवा देखिएको छ । ठूलो मानिसभन्दा चितुवाले साना बालबालिकालाई बढी आक्रमण गर्ने गरेको छ ।

पछिल्लो समय चितुवाका कारण बर्दियाका अधिकांश पालिकाका नागरिक त्रासमा छन् । विशेषगरी सदरमुकामका सामुदायिक वन आसपासका बस्ती असुरक्षित बन्दै गएकोले चितुवालाई अविलम्ब नियन्त्रणमा लिन स्थानीयले सरोकारवाला निकायलाई अपिल गरेका छन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।