केआइआइटीमा अर्की नेपाली छात्रा झुन्डिएको अवस्थामा मृत भेटिएपछि विश्वविद्यालयविरुद्ध कडा कदम चालिनुपर्ने माग

वैशाख १९, २०८२ |किरण पौडेल
केआइआइटीमा अर्की नेपाली छात्रा झुन्डिएको अवस्थामा मृत भेटिएपछि विश्वविद्यालयविरुद्ध कडा कदम चालिनुपर्ने माग

काठमाडौं । भारतको ओडिसा राज्यस्थति भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटिएको छ । 

भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी) ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटना अत्यन्त दुखद भएको र विश्वविद्यालयविरुद्ध कडा कदम चालिनुपर्ने माग गरेको छ ।

विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साह झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् । नेपाली विद्यार्थीहरुलाई कलेजको होस्टेलबाट बाहिर निस्कन नदिइएको नेपाली विद्यार्थीले कान्तिपुर टेलिभिजनसँगको कुराकानिमा बताए । 

पहिलो वर्षमा अध्यनरत प्रिशा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि केआइआइटी विश्वविद्यालयमा गएकी थिइन् । केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टरमा अध्ययनरत प्रिशा बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । यो ३ महिनामा उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत भेटिएको दोस्रो घटना हो ।

यसअघि गत फागुनमा नेपालकी छात्रा प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएपछि विवाद र तनाव सिर्जना भएको थियो । उक्त घटनामा विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालिएको थियो । 

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेतत उच्चस्तरीय समिति बनाएर घटनाको छानबिन गरेको थियो ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।