जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको योगदान अतुलनीय

वैशाख १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको योगदान अतुलनीय

काठमाडौं। जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको योगदानको उचित मूल्यांकन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन। नेपाल जैविक विविधता रणनीति र कार्ययोजनासम्बन्धी काठमाडौँमा भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले आदिवासी जनजाति र स्थानीय समुदायको योगदान अतुलनीय भएको बताए ।

कार्यक्रममा वन विज्ञ डा. कृष्णचन्द्र पौडेलले विश्वको जैविक विविधता खस्कदै गएकोले पुनरावलोकन गर्दै बहुसरोकारवालाहरूले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो।

पृथ्वी र वातावरण सबैको साझा सरोकारको केन्द्र भएको बताउँदै उहाँको पृथ्वीको तापक्रम अधिकतम हुँदै गएकाले जैविक विविधता संरक्षणमा सहकार्यको खाँचो महसुस भएको उल्लेख गर्नुभयो।

सरकारले सन् २०३० सम्मको जैविक विविधता रणनीति बन्दै गइरहेकोले उचित सुझाव र सरोकारवालाको चासो आवश्यक रहेको उहाँको भनाई छ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले नेपालको सामुदायिक वनले केवल वन संरक्षणमा मात्र नभई, जैविक विविधताको संरक्षणमा अतुलनीय योगदान पुर्याएको बताउनुभयो। समुदायको योगदानको कदर गर्दै सदुपयोग र लाभको समूचित वितरणमा समुदायलाई सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।

जैविक विविधता महासन्धि, १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता जैविक विविधता भनेको छ।

जैविक विविधताको संरक्षण र सदुपयोगमा समुदायको आवाज बुलन्द पार्न आवश्यक रहेको बताउदै अन्तर्क्रियाका वक्ताहरुले डढेलो, प्रदुषण, वन्यजन्तु र मानव द्वन्द्वले जैविक विविधतामा असर पारेको बताउनुभयो।

कार्यक्रममा युएनडिपीका डा विजेन्द्र बस्नेत, फेकोफनका वरिष्ठ उपाध्यक्ष बीर्खबहादुर शाही, महासचिव पार्वता गौतम, पारिवारिक नीजि वन महासंघका अध्यक्ष जोगराज गिरी, आड्रा नेपालका प्रेम चौधरी, दिलराज खनाल लगायतले जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको योगदानको चर्चा गर्दै संरक्षण, उपयोग र लाभको समूचित वितरणमा जोड दिनुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.