फेसबुकमा हतियार प्रर्दशन गर्ने दुई जना पक्राउ

वैशाख ११, २०८२ |मनोज पौडेल
फेसबुकमा हतियार प्रर्दशन गर्ने दुई जना पक्राउ

कपिलवस्तु । टिकटक एकाउन्टबाट पेस्तोलसहित हतियार प्रर्दशन गरेको आरोपमा एक जना पक्राउ परेको एकसाता नपुग्दै फेसबुक एकाउन्टबाट हतियार प्रर्दशन गर्ने दुई जना पक्राउ परेका छन् ।

शुद्धोधन गाउपालिका-३ असैरना बस्ने २१ वर्षे दुर्गेश यादव र उक्त पालिकाकै वडा नं. ४ बस्ने २५ वर्षे अनिलकुमार कहारले आफ्नो फेसबुक एकाउन्टमा हातहतियार प्रदर्शन गरेको फोटो तथा भिडियो बनाई बुधबार अपलोड गरेका थिए । 

दुबैले कम्मरमा पेस्तोल बाधेको फोटो र भिडियो पोस्ट गरेका थिए । उनीहरूले बनाएको भिडियोमा स्थानियमा डरत्रास र आतंक सृजना भएको सुचनापछि प्रहरी चौकी, लबनीबाट खटिएको टोलीले दुबैलाई घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक निरञ्जनदत्त भट्टले बताउनुभयाे । 

उनीहरूलाई समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेकोछ । उनीहरूले फेसबुकमा प्रर्दशन गरेको पेस्तोल कहाँबाट कसरी ल्याएर भिडियो बनाएर भनेर थप अनुसन्धान भइरहेको छ ।

यसअघि बैशाख ७ गते टिकटक एकाउन्टबाट हतियारसहित पेस्तोल गर्ने शुद्धोधन गाउपालिका-६ महादेवका २१ वर्षे रघुबिन्द यादव पक्राउ परेका थिए । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।