काठमाडौं । अत्यावश्यक सेवामा हडताल गर्न नपाइने कानुनविपरीत यातायात व्यवसायीहरू सवारी ठप्प पार्दै आन्दोलनमा उत्रिएपछि सर्वसाधारणले सास्ती पाएका छन् । गण्डकी प्रदेशमा यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेपछि सर्वसाधारण मर्कामा परेका हुन् ।
पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरी स्कर्टिङमा काठमाडौं र चितवन पठाइएको छ । कास्की प्रहरीले आइतबार २५ वटा गाडीलाई स्कर्टिङ गरी गन्तव्यमा पठाइएको जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले आज लामो दूरीका सवारीसाधन ठप्प पारे । व्यावसायीको आन्दोलनका कारण आज धनगढीबाट छुट्ने लामो दूरीका साधन नचल्दा यात्रु समस्यामा परेका छन्।
यस्तै, काठमाडौंमा पनि व्यवसायीको प्रदर्शनका कारण केही समय यातायात अवरुद्ध भयो ।
विभिन्न ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । सार्वजनिक यातायात बचाउ संघर्ष समितिको आह्वानमा व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले विदेशी एपमार्फत निजी दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रु ओसारपसार गरिरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐनको प्रतिकूल दफा खारेज गर्नुपर्ने तथा बागमती सरकारले ट्याक्सीको सट्टा भर्नामा लगाएको सिन्डिकेट खारेज गरी संघीय सरकारको मापदण्ड लागू गर्न पनि व्यवसायीको माग छ ।
आफ्ना माग पूरा नभए सोमबारदेखि सम्पूर्ण यातायातका साधन ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने चेतावनी व्यवसायीको छ ।