पोखरा विमानस्थलको प्रतिवेदनलाई लिएर उपसमिति सदस्यहरूकै मत बाझियो

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पोखरा विमानस्थलको प्रतिवेदनलाई लिएर उपसमिति सदस्यहरूकै मत बाझियो

काठमाडौं । लेखा समितिको उपसमितिले तयार गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदनलाई लिएर सदस्यहरूको मत बाझिएको छ । उपसमितिले तयार पारेको प्रतिवेदनमा सत्तारुढ नेकपा एमालेका सांसदले असहमति जनाएका छन् । 

राप्रपा अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङदेन नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन विधि र प्रक्रिया नै नपुर्‍याई लेखिएको उनीहरूको भनाइ छ । दोषी भनिएका व्यक्तिसँग उपसमितिले छलफल नै नगरेको र उनीहरूको जवाफ नसुनी प्रतिवेदन तयार पारिएको आरोप उनीहरूको छ । 

उपसमितिमा रहेका एमाले सांसदहरूले संयोजकले व्यक्ति केन्द्रित प्रतिवेदन तयार पारेको आरोप लगाएका छन् । उपसमितिले तयार गरेको प्रतिवेदनमा समितिको पूर्ण बैठकमा पुगेपछि यो विषय उठाउने तयारी उनीहरूको छ । प्रतिवेदनमा एमालेका सांसदहरूले हस्ताक्षर समेत गरेका छैनन् ।

कांग्रेस सांसद अर्जननरसिंह केसीले भने उपसमितिको प्रतिवेदनमा आफ्नो सहमति रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले उपसमितिमा दोष देखाएकाहरूमाथि अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

राप्रपाका अध्यक्ष लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुल बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा, दीपक गिरी, देवप्रसाद तिम्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव र रुक्मणी राना बराइली सदस्य छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.