हुम्लामा बाढी, १० वटा पसलमा क्षति

सरकारी कार्यालय र विद्यालयमा बाढी पस्यो
मुगुमा पनि सडक अवरुद्ध
वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
हुम्लामा बाढी, १० वटा पसलमा क्षति

हुम्ला । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आज बिहानको वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिहीस्थित बैन्यामा ठूलो क्षति पुर्‍याएको हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो ।

बिहान १५ मिनेटसम्म परेको मुसलधारे वर्षाले १० वटा पसलमा क्षति पुगेको छ । यसका साथै बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय र घरटहरामा समेत पानी पसेको स्थानीय धनराज धामीले बताउनुभयो । अदानचुली-३ गोरपालीका धर्मराज बुढाको गोठ बाढीसहितको लेदोले पुर्दा २७ वटा बाख्रा मरेका छन् भने २९ वटालाई घाइते अवस्थामा उद्धार गरिएको छ । २५ वटा बाख्रा बाढी पहिरोसँगै हराएको डीएसपी शंकर पोखरेलले बताउनुभयो । 

यस्तै अदानचुली गाउँपालिका कार्यालय र सूर्योदय माविमा समेत बाढी पसेको श्रीनगर प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यस्तै मुगुको बैन्यामा आएको बाढीका कारण कर्णाली नदी केही समय अवरुद्ध भएको थियो । बैन्यामा जमिन चिरा-चिरा परेको छ भने सोरुबाट भिही पुग्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यता श्रीनगर आउजाउ गर्ने सबै सडक बन्द भएको धामीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.