सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ब्रम्हायणी नदी माथिको निर्माणाधीन पक्की पुल अलपत्र पर्दा जुगलका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।
बराम्ची र सेलाङ जोड्ने ब्रम्हायणी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई अस्पताल पुर्याउन, बजारबाट दैनिक उपभोग्य सामग्री लैजान र गाउँको उत्पादन बजार पुर्याउन कठिन भएको छ ।
जुगल गाउँपालिकाको सेलाङबाट जोड्ने ढाँडेमा दैनिक स्थानीयको बाक्लो ओहोर-दोहोर भइरहन्छ । साना सवारीसाधन तार्नका लागि झोलुँगे प्रयोग हुँदैआएको छ ।
पुरानो झोलुङ्गे पुलबाट स्थानीयले ओहोरदोहोर गरेपनि पक्की पुल निर्माण नहुँदा गाडी वारपार गराउन सकिँदैन । दैनिक उपभोग्य सामाग्री ल्याउनु परे झोलुङ्गे पुलमा बोकेर तार्नुको विकल्प छैन ।
सदरमुकाम जाने छोटोबाटो भएपनि पुल नबन्दा त्यहाँका स्थानीयलाई समस्या भएको छ । पुल बन्यो भने सेलाङ र गोल्चेका स्थानीयलाई सदरमुकाम चौतारा र पाँचपोखरी जना छोटो दूरी पर्ने भएकाले हरेक कुरामा सहज हुन्छ । तर पुल बन्न बन्ने भएपछि खुसी भएका स्थानीय निर्माण बीचमै अलपत्र पर्दा दुःखी भएका छन् ।
तीन वर्षमा तीनवटा ठेकेदार कम्पनी आउदै थोरै काम गर्दै छोडदै गरेको छ । दुई वर्षमा काम सकिने गरि सात करोडमा सम्झौता भएको ७० मिटर लामो पुल डिजाइनरको लापरबाहीले दुईपटि्ट पिल्लर उठाएर छोडिएको छ।
पक्की पुल अलपत्र पर्दा जोखिम मोलेरै साना सवारीसाधन झोलुङ्गे पुलबाट ओहोरदोहोर गराउनुपरेको छ । तर यो पनि अब जीर्ण बन्दै गएको छ । ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल अलपत्र परेकाले स्थानीय निराश छन् ।