आईपीयू महासभामा जलवायु परिवर्तनको प्रभाव र सामाजिक न्यायबारे छलफल भयो : सभामुख

चैत्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीयू महासभामा जलवायु परिवर्तनको प्रभाव र सामाजिक न्यायबारे छलफल भयो : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू)को महासभामा जलवायु परिवर्तनले पारेको प्रभाव र सामाजिक न्यायमा देखापरेको असमान व्यवहारका विषयमा छलफल भएको बताउनुभएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्टमा सात दिन चलेको सम्मेलनमा सहभागी भएर आज काठमाडौं फर्कनुभएका सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै जलवायु परिवर्तन र द्वन्द्वले विश्वलाई पारेको प्रभाव न्यूनीकरणबारे छलफल भएको जानकारी दिनुभयो । 

उहाँले हिमाली राष्ट्रका लागि जलवायु न्याय अनिवार्य भएको भन्दै अन्तर्राष्ट्रिय साझेदारीमा सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा आफूले जोड दिएको बताउनुभयो ।

सम्मेलनमा संसद्को कामकारबाही, असंलग्न राष्ट्रहरूको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको उहाँको भनाइ थियो ।

आईपीयूअन्तर्गतको दिगो विकास स्थायी समितिको सदस्यमा राष्ट्रिय सभाका सांसद अञ्जान शाक्य र स्वास्थ्य सम्बन्धी समितिको सदस्यमा सांसद सोविता गौतम विजयी हुनुभएको छ । आईपीयूको सम्मेलनमा १८२ राष्ट्रका प्रतिनिधि सहभागी भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.