अछाम । अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भएको आगलागीका पीडितलाई प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मंगलबार साँझ भएको आगलागीमा जयगढ बजारका २७ वटा घर टहरा जलेर नष्ट भए थिए । आगलागीबाट करिब ७ करोड ५४ लाखभन्दा धेरैको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
घरमा राखेको ग्यासको सिलिन्डर पडि्कएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीमा ढुंगा माटोका १०, जस्तापाताका १५, पक्की दुई घर तथा पसल जलेर नष्ट भएका छन । आगलागीबाट सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरू जलेका छन् । आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरण संकलन भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।
मुख्य बजारमा रहेको आईएमई सेन्टरबाट बेलुकी करिब साढे ७ बजेटबाट सुरु भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । बजारको साँघुरो सडक, नजिकमा पानीको स्रोत नहुनु र जिल्लामा एक मात्र दमकल भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीका कारण जयगढ बजारमा ठुलो क्षति भएपछि गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले पालिकाले तत्काल राहत र उद्धारका लागि ६ लाख छुट्याएको र पूर्णरूपमा उद्धार तथा राहतको काममा जुटेको बताउनुभयो ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पीडितहरूका लागि तत्काल ५० लाख राहत रकम दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको विपद् व्यवस्थापन परिषदको बैठकले तत्कालका लागी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले तत्कालका लागी राहत स्वरूप ५० लाख रकम स्थानीय पालिका मार्फत दिने र सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हीरा सार्की घटनाको अध्ययन गर्न अछाम पठाउने निर्णय भएको र पूर्ण क्षतिको विवरण प्राप्त भएपछि थप राहत दिइने जानकारी दिनुभयो ।
१० पालिका रहेको अछामका एउटा मात्र दमकल हुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ । सुक्खा याममा आगलागी तथा डढेलो प्रकोपको बढी जोखिम हुने हुँदा स्थानीय सरकार र सरोकारवालाले रोकथामका उपायमा ध्यान दिन जरुरी छ ।