ताप्लेजुङ । सक्रिय उमेर समूहमा पुगेपछि मानिसले रोजगारीका अवसरहरू खोज्छ । सबैको चाहना आफ्नै परिवारसँग बसेर स्वदेशमै पौरख गर्दै आयआर्जन गरौं भन्ने हुन्छ । तर स्वदेशमा यस्तो अवसर नभएपछि विदेशिनु आम नेपाली युवाको बाध्यता हो ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-१ खाम्लुङमा स्याङवो शेर्पाको सानो घर र थोरै जग्गाजमिन थियो । त्यही जमिनमा खनिखोस्री गरेर स्याङवोले दुखजिलो गरेर चार जना छोरी र दुई जना छोरा हुर्काउनुभयो । आर्थिक अवस्थाकै कारण स्याङवोले छोराछोरीलाई धेरै पढाउन सक्नुभएन । ठूलो परिवार भएकाले गुजारा गर्न हम्मेहम्मे पर्न थाल्यो । त्यसैले स्याङवोका दुवै छोराले विदेश जाने चाहना गरे । जेठा छोरा विदेश जाने बित्तिकै विवाह गरेर अलग भए । ऋण काढेर विदेश पठाएका कान्छो छोरा विकास भने स्याङवो परिवारको आर्थिक मेरूदण्ड बन्नुभएको छ । २०७८ सालमा दुबई जानुभएका विकासले त्यसयता निरन्तर घरमा रेमिट्यान्स पठाइरहनुभएको छ ।
सबैभन्दा पहिले विकासले आफू दुबई जाँदा लागेको ३ लाख रुपैयाँ ऋण चुक्ता गर्नुभयो । त्यसपछि विकासले पठाएको पैसाले बुबा स्याङवोले सदरमुकाम फुङलिङ नजिकै पाँच लाख असी हजार रुपैयाँमा पाँच रोपनी जग्गा किन्नुभयो । आठ लाख रुपैयाँ खर्च गरेर शेर्पा परिवारले त्यहाँ घर बनायो । प्रमाणपत्र तहसम्म अध्ययन गरेका विकासले पढ्नेभन्दा कमाउने सपना देखेको बाबु स्याङवो सुनाउनुहुन्छ । अचेल ६२ वर्षका बाबु स्याङवो र ५९ वर्षकी आमा लाक्पाडोमाको दैनिकी घरमा पालिएका गोरुका साथै कुखुरा हेरचाह र करेसाबारीमा काम गरेर बित्छ ।
मेरिङदेनबाट बसाइँ सरेर सदरमुकाम नजिकै सुविधायुक्त ठाउँमा आएपछि आमा लाक्पाडोमा पनि खुशी हुनुहुन्छ । छोराले अर्काको देशमा गएर पसिना चुहाउँदा स्याङवो दम्पतीलाई दुःख त लाग्छ । तर छोराकै मिहिनेतले दुःखको जीवनबाट पार भएर घरमा समृद्धि भित्रिएको हुँदा उहाँहरू खुशी पनि हुनुहुन्छ ।