राप्रपाको आमसभा बिथोल्न खोज्ने ४ जना पक्राउ

चैत्र २६, २०८१ |रमेश धमला
राप्रपाको आमसभा बिथोल्न खोज्ने ४ जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा गरेको विरोधसभा बिथोल्न खोजेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनमुति अनुसार बल्खुमा आयोजना गरिएको विरोध प्रदर्शनलाई लक्षित गरेर प्रहरीले विषेश सुरक्षा योजना लागू गरेको थियो । चैत १५ गते राजावादीले गरेको आन्दोलनमा सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी र पत्रकारको हत्यासम्म भएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको थियो । 

बिहानैदेखि बल्खु जाने रुटमा सवारीसाधन अन्यन्त्रबाट डाइभर्ट गरिएको थियो भने घुसपैठ हुन सक्ने आशंकामा सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो । वल्खु क्षेत्रमा व्यवसायीका गोदाम तथा सोरुम पनि भएकाले त्यहाँ हुन सक्ने तोडफोड अगजनीलाई लक्षित गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो । 

प्रहरीकै टोलीले मादकपदार्थ सेवन गरेर सुरक्षा व्यवस्था भड्काउन खोजेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुको विस्तृत विवरण लिएर आवश्यक कारवाही गर्नुपर्ने नपर्ने निर्णय लिने जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।

यता, चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन । आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरु ७३ पुगेका छन् । यसअघि पक्राउ परेका राप्रपाकै नेताहरु रविन्द्र मिश्र र धवलशमशेर जबरासहितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । घटनाका मुख्य आरोपी भनिएका दुर्गा प्रसाईं भने अझै फरार छन् ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।