काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि थाइल्यान्डमा भेटवार्ता हुने भएको छ ।
बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकमा रहनुभएका प्रधानमन्त्री ओलीले भोलि दिउँसो नेपाली समयअनुसार ४ बजे भेटवार्ता गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जारी गरेको थाइल्यान्ड भ्रमणको सूचीमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले आज थाइल्यान्डका व्यवसायी तथा व्यापारीहरुसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीलगायत नेपाली उद्योगीहरुको प्रतिनिधिहरुको समेत उपस्थित थियो ।
प्रधानमन्त्री ओलीले आजै थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोलि बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यसूची छ । प्रधानमन्त्री ओलीले यसअघि थाइल्यान्डका प्रधानमन्त्री र नरेशसँग भेटवार्ता गरिसक्नुभएको छ ।
प्रधानमन्त्री ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा दुईपक्षबीच विभिन्न ८ बुँदे सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।