सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा अछुत भन्दै दलित परिवारमाथि ज्यादती गरिएको घटनामा प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थप तीन दिन हिरासतमा राखिने भएको छ । सिरहा जिल्ला अदालतले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न दोस्रोपटक ३ दिनको म्याद थपेको हो ।
गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई अदालतमा पेश गरेर प्रहरीले अनुसन्धानका लागि थप म्याद मागेकोमा ३ दिनको म्याद दिइएको अदालतका स्रेस्तेदार निरज पोखरेलले जानकारी दिनुभयाे। उनीहरू गत ८ गते साँझ पक्राउ परेका थिए ।
अदालतले गत आइतबार पहिलोपटक उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको थियो । औरही गाउँपालिका-५ मा महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दलित समुदायका दीपक मल्लिकको घर गाउँपालिका अध्यक्ष यादव, पूर्ववडाध्यक्ष यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
यस घटनामा पीडित दीपक मल्लिकले गत ९ गते जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । यस घटनामा बजरंजी बाबा भने अझै फरार छन् ।