सिरहामा दलितमाथि ज्यादतीः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई म्याद थपका अदालत लगिँदै

चैत्र १३, २०८१ |विनय आजाद
सिरहामा दलितमाथि ज्यादतीः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई म्याद थपका अदालत लगिँदै

सिरहा । जिल्लाको औरहीको महायज्ञका नाममा अछुत भन्दै दलित परिवारमाथि ज्यादती गरिएको घटनामा प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई म्याद थपका लागि आज अदालत लगिँदैछ ।

गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई सिरहा जिल्ला अदालतमा पेश गरेर आज फेरि अनुसन्धानका लागि म्याद थप गराउन लागिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उनीहरू गत ८ गते साँझ पक्राउ परेका थिए । यसअघि आइतबार उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद थपि दिएको थियो ।

औरही गाउँपालिका(५ मा महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दलित समुदायका दीपक मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।

यस घटनामा पीडित दीपक मल्लिकले गत ९ गते जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउनुभएको थियो । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । यस घटनामा बजरंजी बाबा भने अझै फरार छन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।