संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अर्को सर्च कमिटी बनाउने सहमति

चैत्र ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अर्को सर्च कमिटी बनाउने सहमति

काठमाडौं । तीन दलका शीर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सांसद एवं गृहमन्त्री रमेश लेखक सहभागी हुनुहुन्थ्यो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउने विषयमा परामर्श भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३(३)को बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि सिफारिस समिति, सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीज्यूले दुवै दलका नेताहरूसँग परामर्श गर्नुभयो । र परामर्श बमोजिम अब सिफारिस प्रक्रिया अगाडि बढ्छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.