काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले सत्तामा बसेर गलत काम गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई दिएको बताउनुभयो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले कुनै पनि निरंकुशता नरुचाउने बताउनुभएको हो । राणा शासन, पञ्चायती व्यवस्था र सक्रिय राजतन्त्रलाई जनताले नरुचाएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले यो व्यवस्था स्थापना गर्न हजारौंको त्याग, संघर्ष र बलिदानी रहेको बताउनुभयो ।
शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत सरोकारवाला सबैको भएको उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न आह्वानसमेत गर्नुभयो ।