लालबन्दीका १९ अवैध स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

चैत्र १०, २०८१ |ओमप्रकाश ठाकुर
लालबन्दीका १९ अवैध स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा सञ्चालित १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले निर्देशन दिनुभएको छ । निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएका सिंहले राति अबेरसम्म लालबन्दी र नवलपुरका २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो ।

अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति पत्र नरहेका र मापदण्ड अनुसार सेवा सञ्चालन नभएका १९ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री सिंहले केही साताअघि पनि लालबन्दी नगरपालिकास्थित नवलपुरको स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो । आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएको अस्पताल पुनः सञ्चालन भइरहेको गुनासो आएको र त्यस सम्बन्धमा स्थानीय प्रहरी परिचालन गरेर निगरानी गर्न प्रदेश प्रहरी प्रमुख (डीआईजी) लाई निर्देशन दिएको जानकारी दिनुभयो ।

लालबन्दी अनुगमन गर्नुअघि प्रदेशभरका ७५ वटा अवैध स्वास्थ्य संस्था बन्द गराइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।