काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न आज र भोलि काठमाडौैमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको छ ।
सम्मेलनमा श्रम क्षेत्रका विज्ञ र सरोकारवाला पक्षले भन्ने र सरकारले सुन्ने नीति लिइएको छ । श्रम र सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सम्मेलन गर्न लागिएको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।
श्रम शक्तिको यथोचित उपयोग गरी रोजगारी सिर्जना गर्ने क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको सदुपयोग गर्ने लक्ष्य सरकारले राखेको छ ।
रोजगारी सिर्जनाका लागि नीति र कानुनमा सुधार गर्न लागिएको मन्त्रालयले जनाएको छ । उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने मन्त्रालयको विश्वास छ ।
सरकारले गर्न लागेको यो पाँचौं सम्मेलन हो । सम्मेलनमा ५ वटा प्यानल छलफल हुने छ । सरकारले सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगारी प्रवर्द्धनसम्बन्धी १० बर्से रणनीति योजनामा समावेश गर्ने जनाएको छ ।
सुझावलाई मन्त्रालयले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि रणनीतिक योजना पनाउन समावेश गर्नेछ ।
सरकारी तथ्यांकअनुसार हाल १५ देखि ६५ वर्ष उमेर समूहका ३४ प्रतिशत नेपाली श्रम बजारभन्दा बाहिर छन् ।