काठमाडौं । नागरिकतामा देखिएका व्यवहारिक समस्या समाधान गर्न सरकारले ल्याएको नेपाल नागरिकता विधेयकमा सांसदहरूले पहिचान विहीनलाई थप अप्ठ्यारो हुने गरी संशोधन दर्ता गरेका छन् ।
बाबु वा आमामध्ये एकको नेपाली नागरिकता भए उनीहरुका सन्तानले नागरिकता पाउन सक्ने प्रावधान खारेज गर्न सांसदहरुले संशोधन हालेका हुन् । यसले नागरिकताको समस्या समाधान हुनुको सट्टा झन् बल्झन सक्ने ठहर सरोकारवालाहरुले गरेका छन् ।
आमाले आफ्ना सन्तानलाई नागरिकता बनाइदिंदा बाबुको नाम थर नराखी नागरिकता लिन सक्ने गरि सरकारले नागरिकता विधेयकमा प्रस्ताव गरेको छ ।
प्रस्तावित विधेयकको दफा ३ को उपदफा ५ मा जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि नागरिकता बनाउने बेला बाबु सम्पर्कमा नरहेको अवस्थामा त्यस्ता व्यक्तिले वंशजका आधारमा नागरिकता पाउने व्यवस्था विधेयकमा छ । बाबु–आमाको सम्बन्ध बिग्रिएमा वा बाबुले असहयोग गरेका व्यक्तिलाई नागरिकताविहीन हुनबाट जोगाउन भन्दै सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो । तर सांसदहरुले त्यस्तो व्यवस्था नै राख्न नहुने भन्दै खारेज गर्न संशोधन हालेका छन् ।
यसैगरी वैदेशिक रोजगारीमा गएका महिलाले विदेशमा सहमतिले वा जबरजस्ति करणी भएर जन्मिएका तर अहिले नेपालमा हुर्किइरहेका बालबालिका पनि अनागरिक बन्ने अवस्थालाई सम्बोधन गर्न सरकारले प्रस्तावित विधेयकमा उनिहरुले नागरिकता पाउने व्यवस्था गरेको छ । तर संशोधन हाल्ने सांसदहरुले यो व्यवस्था पनि खारेज हुनुपर्ने भन्दै संशोधन हालेका छन् ।
नेपालको नागरिक आमाबाट विदेशमा जन्म भइ नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको अवस्थामा अंगिकृत नागरिकता प्राप्त गर्न यो व्यवस्था गरिएको छ ।
यसमा विशेषगरी वैदेशिक रोजगारीमा गएका नेपाली महिलाबाट जन्मिएका, बाबुको पहिचान नखुलेकाहरुलाई अनागरिक हुन नदिन यो व्यवस्था गरिएको हो । तर केही सांसदले यसलाई गलत भन्दै खारेज गर्न संशोधन हालेका छन् । यसमा नेकपा एमालेका रघुजी पन्त, ठाकुर गैरे र नारायण आचार्यले संयुक्त र अन्य केही सांसदले छुट्टाछुट्टै संशोधन हालेका हुन् ।
अहिले एकल आमाबाट जन्मिएका हजारौंले नागरिकता पाउन सकेका छैनन् । त्यही समस्या समाधान गर्न सरकारले ल्याएको प्रस्तावलाई सांसदहरुले हटाउन खोजेका हुन् । प्रस्तावित व्यवस्था खारेजीको माग सहित संशोधन हाल्ने सांसदहरुले दफा ३ मा भएको बाबु–आमा मध्ये कुनै एकले नेपाली नागरिकता प्राप्त गरेको तर नागरिकता लिनु अगावै बाबु आामा मध्ये कसैको मृत्यु भएको अवस्थामा उनीहरुका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था पनि हुन नहुने तर्क गरेका छन् ।
प्रस्तावित नेपाल नागरिकता दोस्रो संशोधन विधेयकमा ३६ वटा संशोधन दर्ता भएका छन् । संशोधन दर्ता गर्ने अधिकांश सांसदको चासो विधेयकको दफा ३ र ५ मा नै छ ।
सरोकारवालाहरुले भने सांसदहरुले राखेको संशोधनप्रति आपत्ति जनाएका छन् । सांसदहरु पितृसत्तात्मक सोचबाट माथि उठ्न नसकेको वरिष्ठ अधिवक्ता मीरा ढुङगानाको भनाइ छ ।
अहिलेको कानुनमा नेपाली नागरिक आमाबाट नेपालमा जन्म दिएका सन्तानलाई बाबुको पहिचान नभए पनि नागरिकता दिने व्यवस्था छ । तर विदेशमा जन्मिएकाहरुलाई नागरिकता दिने परिकल्पना कानुनले गरेको छैन । यसैगरी स्वदेशमै पनि बाबुको असहयोगका कारण आमाले सन्तानलाई नागरिकता दिलाउन नसकेर अनागरिक हुनुपर्ने अवस्था छ । यस्तो अवस्थाका कारण नागरिकता पाउनबाट बन्चित भएकालाई यो संशोधनमार्फत् अङ्गिकृत नागरिकता दिने बाटो खोल्न लागिएको हो । तर कही सांसदहरु विरोध गरिरहेका छन् ।