सप्तरी । सप्तरीको मलेठस्थित गोदामबाट बरामद भएको २४ क्वीन्टल ११ केजी गाँजाको अनुसन्धान सप्तरी प्रहरीले तीब्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजमा पत्रकार सम्मेलन गर्दै उक्त गाँजा गोदामका चौकीदारलाई सार्वजनिक गरेको हो ।
प्रहरीले पत्रकार सम्मेलनमा उक्त गाँजालाई गोदाममा चौकीदारको रुपमा काम गर्ने भारतीय नागरिक बिहारको मधुबनी जिल्ला कुकुरदौरा ग्रामपञ्चायत १० छातापुर टोलका ६६ वर्षिय रामनारायण यादवलाई प्रहरीले सार्वजनिक हो ।
सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार अनुसन्धानको क्रममा उक्त गाँजा भारततर्फ तस्करी गर्नका लागि रोशन यादव भन्ने ब्यक्ति संलग्न भएको र उनको खोजी कार्य भइरहेको छ ।
यसैबीच उक्त गाँजासहित मालसमान बरामद भएको राजविराज ९ मलेठस्थित गोदाम जग्गा धनीसँग पनि थप अनुसन्धानकालागि सोधपुछ भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
यस्तै उक्त गोदाममा फेला परेको नि:शुल्क लेखिएको सेनेटरी प्याडको विषयमा पनि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । गोदामबाट बरामद भएका स्याउ, चिनी, कपडा, सुर्ति तथा हार्डवेयरका झण्डै ३२ लाखका मालसमान र ६० लाख बराबरको सवारीसाधन आवश्यक कारबाहीको लागि प्रहरीले राजविराज भन्सार कार्यालय पठाएको छ ।
गत सोमबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा उक्त गोदाममा छापामार्दा प्रतिबन्धित गाँजासहितका मालसमान बरामद भएको थियो ।