ताप्लेजुङ । ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा ताप्लेजुङमा १३ जना घाइते भएका छन् । नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राको अन्तिम दिन उक्त समूहका आन्दोलनकारी केबलकार बेस स्टेशनतर्फ अगाडि बढेपछि सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो ।
झडपमा ट्याक्सी चालक राजकुमार पौडेल, ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको उद्धारका लागि फुङलिङबाट रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ र ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू ट्याक्सी लिएर गएका थिए । तर आन्दोलनकारीको आक्रमणबाट ट्याक्सीको शिशा फुट्यो भने चालक पौडेल घाइते हुनुभएको वकमल लिम्बूले जानकारी दिनुभयो ।
भिड नियन्त्रण गर्न प्रहरीले ७ राउन्ड अश्रुग्यास समेत चलाएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । आन्दोलन यति बेला पनि जारी छ ।