केआईआईटी अध्ययनरत डेढ सयभन्दा बढी विद्यार्थी नेपाल फर्किए

फाल्गुन ७, २०८१ |जिल्ला ब्युरो
केआईआईटी अध्ययनरत डेढ सयभन्दा बढी विद्यार्थी नेपाल फर्किए
रानी नाका हुँदै नेपाल फर्किएका विद्यार्थी

काठमाडौं । भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत डेढ सयभन्दा धेरै नेपाली विद्यार्थी घर फर्केका छन् । ७५ जना विद्यार्थी विराटनगरको रानी नाका हुँदै नेपाल फर्किएका छन् । यस्तै रक्सौल र काँकडभिट्टा सहित अन्य सीमावर्ती नाकाबाट पनि नेपाली विद्यार्थी फर्केका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज ७५ जना विद्यार्थी नेपाल फर्किएको जानकारी दिनुभयो । हिजो ३ जना विद्यार्थी फर्किएका थिए । नाकाबाट प्रशासनले विद्यार्थीलाई घर पठाउन सहजीकरण गरेको छ । 

यस नाका हुँदै स्वदेश फर्किएका विद्यार्थीहरूमा मोरङका ३६ जना, सप्तरीका १६ जना, सुनसरीका ११, काठमाडौं र सिरहाका ३-३, सर्लाही र धनुषाका २-२, ललितपुरका १ र उदयपुरका १ जना रहेका छन् ।

केआईआईटी होस्टेलमा रूपन्देहीकी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेपछि नेपाली विद्यार्थीहरू पढाइ छाडेर घर फर्किएका हुन् ।

यसैबीच सोही विश्वविद्यालयमा प‌ढ्ने १६ जना नेपाली विद्यार्थी पूर्वीनाका झापाको काँकडभिट्टा हुँदै नेपाल फर्किएका छन् । गए राति नेपाल प्रवेश गरेका ती विद्यार्थी आज आआफ्नो गृह जिल्लातर्फ लागेको झापाका प्रमुख जिल्ला अधिकारीले गोपालकुमार अधिकारीले जानकारी दिनुभएको छ ।



Enter Kantipur TV HD
Advertisement