हलेसी बजारमा भएको आगलागीबाट ७ करोडभन्दा बढीको क्षति

फाल्गुन ५, २०८१ |उत्तम चौलागाईं
हलेसी बजारमा भएको आगलागीबाट ७ करोडभन्दा बढीको क्षति

खोटाङ । हलेसी बजारमा गए राति भएको आगलागीबाट ७ करोड ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट सुरू भएको आगोले चार वटा घर, तीन वटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भए ।

आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीन तले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय लगायत जलेर नष्ट हुँदा करिब चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यु कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुईतले काठको घर गरी २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । साँझ करिब ७ बजेदेखि सुरू भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रस्टले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारूहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख रुपैयाँ बराबरको भएको छ ।

दमकल अभावमा हलेसी बजारमा लागेको आगो नियन्त्रणमा कठिन भएको थियो । जिल्लामा एउटा पनि दमकल नहुँदा ट्र्याक्टर मार्फत पानी बोकेर आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीबाट पीडित बनेकाहरूका लागि दुई महिना आर्थिक सहयोग उठाउने निर्णय भएको छ । सोमबार महादेवस्थान वडा कार्यालयको सभाहलमा हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईको संयोजकत्वमा राजनीतिक दल, रेडक्रस, होटल व्यवसायी, इलाका प्रहरी कार्यालय हलेसी, समाजसेवी, विभिन्न संघसंस्था र स्थानीयवासीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आर्थिक संकलनका लागि हलेसी तुवाचुङ नगरपालिकाको प्रकोप व्यवस्थापन खाता प्रयोगमा ल्याइने बैठकले निर्णय गरेको छ ।

अग्निपीडितका लागि उक्त खातामा जम्मा भएको रकममध्ये १५ दिनमा पहिलो चरणमा मेयर राईको संयोजकत्वमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर पीडितलाई वितरण गरिनेछ । अग्निपीडितलाई सहयोग उठाउन नगरपालिका, विभिन्न राजनीतिक दल, संघसंस्थाहरूले पहल गर्नेछन् ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।