६ अर्बभन्दा बढीको लगानीमा बनिरहेछ लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन

फाल्गुन ३, २०८१ |भुवन पाण्डे
६ अर्बभन्दा बढीको लगानीमा बनिरहेछ लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन

रूपन्देही । लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रूपमा बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण धमाधम भइरहेको छ । सवा ६ अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक संरचना सहितको १२ तले भवन निर्माण हुँदैछ । ११५ वर्ष पुरानो भवन जीर्ण बनेको र उच्च भूकम्पीय जोखिममा परेपछि नयाँ भवन बनाउन थालिएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको पुरानो संरचना हटाएर अत्याधुनिक संरचना सहितको नयाँ भवन बन्दैछ । गत वर्ष पुसमा ठेक्का सम्झौता पश्चात पुरानो संरचना भत्काउने, साइट क्लियरेन्स, अस्पतालका नियमित कार्य बन्दै गरेका अन्य संरचनामा सार्न समय लागेकाले निर्माण कार्य सुस्त गतिमा थियो । अहिले १८० जना कामदारले काम गरिरहेका छन् । समयावधिभित्रै काम सम्पन्न गर्न दिनरात काम भइरहेको आयोजनाले जनाएको छ । अहिले साढे १४ प्रतिशत काम भएको छ ।

भवन निर्माणका प्रक्रिया र विशेष मापदण्ड समेटेर गुणस्तर योजना बनाइएको छ । तोकिएका गुणस्तरका आवश्यकताहरू पूरा गर्न नियमित निरीक्षण, परीक्षण र कागजातहरू कार्यान्वयन गरेर त्रुटिहरू रोक्न र निर्माणका हरेक चरणमा उच्च गुणस्तर कायम राख्न प्राविधिकहरू खटिएका छन् । निर्माणमा प्रयोग हुने सामग्रीहरू ल्याबमा परीक्षण गरेर मात्र प्रयोग गरिरहेको आयोजनाले जनाएको छ । आवश्यक सामग्रीहरूको सहज उपलब्धता र समयमै रकम निकासा भए सम्झौता अनुसार काम समयमै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

२०८० साल पुस २६ मा सम्झौता भएको आयोजना पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ६ अर्ब १८ करोड ७५ लाख बजेटमा कापा साइट आशिष रेलिगरे जेभीले निर्माणको काम गरिरहेको छ । ६ बिघा १२ कट्ठा क्षेत्रफलमा अस्पताल निर्माण भइरहेको छ । १२ तले भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा, आपत्‌कालीन सेवा, इनडोर सर्भिस कक्ष रहनेछन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सीधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्ट समेत बन्ने गरी डिजाइन गरिएको छ । क्यान्सर उपचारका लागि भने छुट्टै अर्को अन्डरग्राउन्ड सहितको पाँच तलाको भवन बन्नेछ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement