सगरमाथा संवादको तयारी बैठक : भारत र चीनका सरकारप्रमुखलाई निम्तो गरिने

माघ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सगरमाथा संवादको तयारी बैठक : भारत र चीनका सरकारप्रमुखलाई निम्तो गरिने

काठमाडौं । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रममा भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको तयारी बैठकमा सगरमाथा संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरेको छ ।

यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने प्रस्ताव छ । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो । संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ ।

आयोजना सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी छ । संवादका अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ । यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तीनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ ।

माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्षका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रम काठमाडौंमा गर्ने घोषणा गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement