भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित नगदेशमा आज साँझ पुलुकिसी जात्रा प्रदर्शन गरिएको छ । विगत १२ वर्षदेखि बन्द रहेको ऐतिहासिक यो जात्रा स्थानीय युवाहरूको सक्रियतामा यस वर्ष देखाइएको हो ।
स्वस्थानी व्रतकथामा आधारित पुलुकिसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि विगत १२ वर्षदेखि खर्च व्यवस्थापन गर्न नसकेर जात्राले निरन्तरता पाउन सकेको थिएन । नगदेश लाय्कु दरबार समितिका सदस्य भाइजन बाडेले यस वर्ष धुमधामले पुलुकिसी जात्रा प्रदर्शन गरिएको बताउनुभयो ।
काठमाडौ र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा गरिन्थ्यो भने नगदेशमा स्वस्थानी व्रतकथाको आधारमा गरिँदै आएको छ । माघ महिनाभर वाचन हुने स्वस्थानी व्रतकथा अनुसार हात्तीले राजकुमारको रूपमा व्राह्मणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्तता दिँदै आएको छ ।
राजकुमार छनोट भएको खुशियालीमा भोजभतेर गर्दै नगदेशवासीहरूले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ । विशेषगरी नगदेशका किसान, महर्जन समुदायले यो पर्व मनाउँदै आएका छन् । यो पर्व मनाउँदै सुयोग्य वरवधूको मनोकांक्षा राख्दै युवापिढीहरूले पनि व्रत बस्ने परम्परा रहेको स्थानीयले बताए ।
हरेक वर्ष भीमाद्वादशीको दिन यो जात्रा देखाउने परम्परा रहेको छ ।