राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित दुई जनाविरुद्ध मुद्दा दायर

माघ २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

उपकरण खरिद गरिएको एफ फाइभ कम्पनीका नेपाल प्रतिनिधि दीपक आनन्दसँग मिलेर पौडेलले तीन करोड ८ लाख घुस लिएको आरोप पत्रमा उल्लेख छ । ६ लाख ७६ हजार अमेरिकी डलर पर्ने उपकरण खरिद गर्दा पौडेललाई घुससहित १० लाख ५३ हजार डलर भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

उपकरण खरिदका लागि पौडेलले भारतीय प्रतिनिधि दीपक आनन्दसँग सन् २०१८ मार्च २७ मा तीन वटा कम्पनीको लागत अनुमानसहितको कोटेशन मागेका थिए । मार्च २७ मा आनन्दले १२ लाख ५० हजार डलरको लागत अनुमानसहित एफ फाइभ, सिको र इन्स्टासेफ कम्पनीको नाम पठाए । अप्रिल ५ मा उनले २ लाख ७५ हजार डलर घुसवापत पौडेलले पाउने प्रस्ताव राखेको प्रमाण अख्तियारले संकलन गरेको छ ।

तर पौडेलले ४ लाख डलर माग गरेको च्याट पनि अख्तियारले बरामद गरेको छ । सुनिलले ३ लाख ७५ हजार अमेरिकी डलर लिएको दाबी अख्तियारको छ । उपकरण खरिदमा घुसवापत लिएको ३ करोड ८ लाख विगो र सोही बमोजिम विगो कैद माग गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो । सुनिल पौडेल र विकल पौडेलले दुरसंचार क्षेत्रमा गरेको घोटाला र अकुत सम्पत्तिको मुद्दा चलिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement