काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसद्मा दर्ता भएको विधेयकप्रति आपत्ति जनाउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक रहेको बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्ने बताउनु भयो । उहाँले प्रेसको स्वतन्त्रता पनि विधेयकले नियन्त्रण गर्ने बताउनु भयो । विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको बताउनु भयो । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको बताउनु भयो ।
अध्यक्ष दाहालले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँडेको ? भन्दै प्रश्न गर्नुभयो ।
दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप समेत लगाउनु भएको छ ।उहाँले सरकार अधिवेशनबाट भागेको आरोप लगाउनु भयो । ‘पछिल्ला ३५ वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेछ ३५ वर्षपछि अहिले देशको विकास ६ दिन ढिलो हुन्छ भनेर अध्यादेश ल्याएको हो ?’ उहाँले प्रश्न गर्नुभयो ।
उहाँले रातारात अध्यादेश ल्याउने कुराले पनि सरकारको नियत सही नरहेको पुष्टि गर्ने बताउनु भयो ।