राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वसन्त श्रवण

माघ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा आज बिहान काठमाडौँ हनुमानढोकास्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । 

विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । 

बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ । वसन्त श्रवण गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.