अमेरिका । क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर, राहदानी शिविर आयोजना गरिएको छ ।
अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासको आयोजनामा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा जनवरी २२ देखि २९ सम्म कन्सुलर राहदानी शिविर चलाइएको हो ।
दैनिक २ सयजनालाई सेवा दिनेगरी शिविर सञ्चालन भएको राजदूतावासले जनाएको छ । यो शिविरमा छुटेकाले नेपाल सरकारको निर्णय बमोजिम क्यालिफोर्नियामा केही समयमा स्थापना हुने महावाणिज्यदूतावासबाट समेत सेवा लिन सक्ने क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले जनाउनु भएको छ ।
नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणका अनुसार सेवा लिनका लागि आवेदन खुला गरेको २ घण्टामा ‘बुक’ भएको थियो । सन् २०२२ मा आयोजना गरिएको यस्तै प्रकारको शिविरमा ७ सय ४६ नेपालीले सेवा पाएका थिए ।
गैर आवासीय नेपाली संघ, क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले राहदानी शिविरले सेवाग्राहीलाई सहज भएको जनाउँदै नेपाली राजदूतावासलाई धन्यवाद दिनु भयो ।