दाङ । थारू जातिको आदिभूमि मानिन्छ दाङ । प्रथम थारू राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा एउटा गाउँपालिकाको नाम नै दंगीशरण राखिएको छ ।
थारू इतिहास र संस्कृति बचाउन चखौरामा निर्माण गरेको थारू सांस्कृतिक संग्रहालय यति बेला लुम्बिनी प्रदेशको पर्यटकीय गन्तव्य बनेको छ । संग्रहालयमा थारू जातिको जन्मदेखि मृत्युसम्मका रीतिरिवाजका मूर्ति सजावट गरिएको छ ।
तुलसीपुरबाट ९ किलोमिटर पश्चिममा रहेको यो संग्रहालय हेर्न र घुम्न पुग्नेको संख्या दैनिक एक हजारभन्दा बढी छ । दाङ सहित नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने थारूको इतिहास यहाँ देख्न सकिन्छ । थारू जातिका परम्परा, नाचगान, चाडपर्व, सामाजिक जीवन झल्कने गरी संग्रहालयभित्र र भित्तामा सजाएर राखिएको छ । अहिले नेपालका विभिन्न जिल्लाबाट थारू संस्कृति बुझ्न आउने जातीय पहिरनमा सजिएर फोटो खिचेर आनन्द लिनेहरू यहाँ भेटिन्छन् ।
थारू बस्तीको झल्को दिने परम्परागत घर, कोठा, धन्सार, देवता राख्ने ठाउँ, पूजापाठ, जन्म र मृत्यु संस्कारको बारेमा मूर्ति सहितका सामग्री सजाएर राखिएको छ । थारू पुरुष र महिलाले लगाउने कपडा, धार्मिक गतिविधि, नाचगान गर्दा लगाउने लुगा सहितका शृंगारका सामाज सजाएर राखिएका छन् । आदिवासी थारूलाई भूमिपुत्रका रूपमा लिने गरिन्छ । उनीहरूले प्रयोग गर्ने कृषि औजार, उपकरण , खेतबारी जोत्न र खन्न प्रयोग गरिने औजार राखिएको छ ।
५ बिघा क्षेत्रफलमा फैलिएको संग्रहालयमा एक अर्बभन्दा बढीको सम्पत्ति जोडिइसकेको छ । थारूको दैनिकी देखाउने ५ सय बढी मूर्ति यहाँ देख्न पाइन्छ । अवलोकन गर्न देशभरका थारू परिवार मात्रै होइन गैर थारूदेखि सांसद, मन्त्री र पूर्वप्रधानमन्त्री समेत चखौरा पुग्ने गरेका छन् ।
नेपालका सबैठाउँमा बसोवास गर्ने थारूको इतिहास संरक्षण हुने गरी संग्रहालय निर्माणको काम २०७५ सालदेखि थालिएको थियो ।
घुम्न आउनेहरूसँग लिइने शुल्कबाट दंगीशरण गाउँपालिकाले १० प्रतिशत रकम लिने गरेको छ भने संग्रहालयमा अहिले ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । घुम्न आउनेहरूका लागि थारू परिकार र रैथाने खाना तथा आवासीय व्यवस्था पनि संग्रहालयभित्र रहेको छ ।