काठमाडौं । हरेक वर्ष माघ १६ ले राणा शासन विरुद्ध जीवनको बलिदानी गरेका शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको सम्झना गराउँछ । २००७ सालपछि विभिन्न कालखण्डमा नागरिक अधिकार र लोकतन्त्रका लागि भएका संघर्षमा धेरैले ज्यान गुमाए । शहीदहरूको बलिदानीबाटै मुलुकमा ठूला-ठूला राजनीतिक परिवर्तन सम्भव भए ।
राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट बनाएको आरोपमा तत्कालीन सरकारले १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएको थियो । तिनै शहीदको सम्झनामा २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । प्रजातन्त्र बहालीका लागि जीवन उत्सर्ग गरेका ती शहीदको सम्झना मात्र होइन, व्यवहारमा पनि उनीहरूले देखाएको सत्मार्गको अनुसरण गर्नु उनीहरूप्रति साँचो सम्मान हुनेछ ।
“शहीदले के कुराका लागि लडे, के कुराका लागि ज्यान आहुति दिए ? त्यसको महत्त्व हामीले बुझ्नुपर्यो । उहाँहरूले १९९७ सालमा दिएको आहुति प्रजातन्त्रका लागि थियो”, नागरिक अगुवा केदारभक्त माथेमाले बताउनुभयो ।
२००७ सालपछि पनि नागरिक अधिकार र लोकतन्त्रका लागि भएका पटक-पटकका आन्दोलनमा धेरैले ज्यान गुमाए । माओवादीले गरेको १० वर्ष लामो सशस्त्र संघर्ष, २०६२-०६३ को दोस्रो जनआन्दोलन र तराई-मधेस तथा थरूहट आन्दोलनका अतिरिक्त विभिन्न आन्दोलनका क्रममा सयौंले ज्यान गुमाएका छन् । त्यसयता करिब १५ हजारलाई सरकारले शहीद घोषणा गरिसकेको छ । नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा विरुद्ध प्रचार गरेको आरोपमा १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो ।
'कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्तदेखि राजा महेन्द्रलाई बम प्रहार गरेको अभियोगमा फाँसीको सजाय पाएका दुर्गानन्द झालाई समेत यस अवसरमा हामी सम्झिने गर्छौं ।
पञ्चायत विरोधी आन्दोलनका सेनानी यज्ञबहादुर थापा हुन् या मधेश आन्दोलनका प्रथम शहीद रमेशकुमार महतो, सबै स्मरणीय छन् । नागरिक अधिकार रक्षाका लागि शासक र शासन प्रणालीका विरुद्ध आवाज उठाउँदा मारिएका ती शहीद नेपालीका आस्था हुन् । तिनै शहीदको बलिदानीबाट मुलुकमा ठूला-ठूला राजनीतिक परिवर्तन सम्भव भए ।
तर सामान्य घटनामा मारिएकालाई पनि शहीद घोषणाका लागि दबाब दिने प्रवृत्ति बढ्दो छ भने दलीय स्वार्थपूर्तिका लागि समेत शहीद घोषणा हुने गरेको भन्दै आलोचना हुने गरेको छ । निश्चित मापदण्डबिना शहीद घोषणा गर्ने प्रवृत्तिले शहीदको गरिमाकै अपमान हुने गरेको टिप्पणी पनि हुने गरेको छ ।
“शहीद भन्ने कुरा नै अवमूल्यन भएको जस्तो लाग्छ । सडक दुर्घटनामा बितेकालाई पनि शहीद बनाएको छ । भारतमा जति शहीद छन् त्योभन्दा दोब्बर होलान् नेपालमा”, नागरिक अगुवा माथेमाले बताउनुभयो ।
तर सँगसँगै देश आज जुन स्थानमा आइपुगेको छ, त्यसमा विभिन्न कालखण्डमा देशका लागि जीवन बलिदान गर्ने शहीदहरूको योगदान भने महत्त्वपूर्ण छ । त्यस कारण दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।