'नयाँ आर्थिक मार्ग'मा नेकपा : सामूहिक कृषि उत्पादनदेखि गार्मेन्ट उद्योगसम्म सञ्चालन

माघ १२, २०८१ |मनोज पौडेल
'नयाँ आर्थिक मार्ग'मा नेकपा : सामूहिक कृषि उत्पादनदेखि गार्मेन्ट उद्योगसम्म सञ्चालन

कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी, नेता-कार्यकर्तालाई चलायमान बनाइराख्न राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाएको छ । यसबाट हुने आयआर्जनले पार्टीलाई जीवन्त बनाइराख्ने र नेता कार्यकर्ताको घरव्यवहार चलेर राजनीतिक उद्देश्य पूरा हुन सहयोग पुग्ने अपेक्षा छ । नेकपाले 'नयाँ आर्थिक मार्ग' को नयाँ प्रस्ताव पारित गरेर विभिन्न जिल्लामा सामूहिकरुपमा खाद्यान्न, तरकारी बाली उत्पादनसँगै गार्मेन्ट उद्योगसमेत सञ्चालन गरेको छ । 

गणेश सी कपिलवस्तुको शिवराज नगरपालिकाको बिजगौरीमा आफ्नो पार्टी नेकपाले दुई बिघामा लगाएको आलु गोडमेल गर्दैहुनुहुन्छ । चौधरी ग्रुपसँग सम्झौता गरेर चिप्स बनाउन आलु रोपिएको हो । स्कुलको जग्गा लिजमा लिएर यहाँ आलुसँगै अन्य तरकारी र गहुँ रोपिएको छ । झापादेखि कैलालीसम्म ७ जिल्लामा चिप्स उत्पादन गर्न यो वर्ष पहिलोपटक आलु लगाइएको हो । यसका लागि चौधरी ग्रुपले ४८ मेट्रिक टन बीउ दिएको थियो । जसबाट तीन सय मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य छ ।

‘पार्टीले पुरा देशलाई नै आत्मविश्वास बनाउनेछ भन्न आत्मविश्वास लिएर हामी रातदिन नभनेर खटिरहेका छौं । अहिले हामी यहाँ ८/१० जना युवाहरू छौं,’ कपिलवस्तुका आलु उत्पादक पार्टी कार्यकर्ता गणेश सीले भन्नुभयो । 

पार्टीको केन्द्रीय कार्यालय रहेको अञ्चलपुर आसपासका ठाउँ भोक्कर र बिजगौरीमा ५ बिघामा सामूहिक खेती गरिएको छ । बिजगौरीमा गौशालासमेत सञ्चालन गरिएको छ । कपिलवस्तुकै वाणगंगामा ५ बिघामा खेती गरिएको छ । सबैभन्दा बढी चितवनको माडीमा १२ बिघामा खेती र ५ बिघामा माछापालन गरिएको छ । मोरङ, कैलाली, दाङ र अर्घाखाचीमा डेढ सय बिघामा खेती गरिएको छ ।

पार्टीले दुई तरिकाले खेती गर्छ । एउटा पार्टीले नै सबै खर्च दिएर पार्टी सञ्चालनका लागि संस्थागत खेती गरिन्छ भने अर्को पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको लगानीमा एकीकृत स्वामित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्व नारा दिएर खेती गरिएको छ । संस्थागत खेतीको सबै आम्दानी पार्टीले लिन्छ भने पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको आधा लगानी रहेका खेतीमा ६० प्रतिशत व्यक्ति र ४० प्रतिशत पार्टीले लिन्छ ।

‘एकिकृत स्वामित्व प्रणाली अन्तर्गत हामी उत्पादनको क्षेत्रमा अगाडि बढीरहेका छौं । केन्द्रिय समीति बैठकले बनाएको नीतिलाई लागु गर्ने प्रक्रियामा हामी छौं । अहिले हामीले देशभरी नै ठूलो मात्रामा उत्पादनका कार्यहरू गरिरहेका छौं,’ नेकपा विप्लवका पोलिटब्यूरो सदस्य तथा नमूना निर्माण विभागका प्रमुख कृति सीले भन्नुभयो । 

पार्टीको केन्द्रीय कार्यालय भवनमा करिब १० लाख लगानीमा सी गार्मेन्ट उद्योग सञ्चालन गरिएको छ । पार्टीको आफ्नै गार्मेन्टमा तयार गरिएका कालो कोट, पाइन्ट र कमिज लगाएर शिवगढीमा पुस पहिलो साता सम्पन्न ६ औा केन्द्रिय कमिटी बैठकमा १ सय ४५ जना केन्द्रीय सदस्य सहभागी भए । गार्मेन्टबाट कोट पाइन्ट, कमिज र ट्रयाकसुट निर्माण भइरहेको छ । सी गार्मेन्टका व्यवस्थापक राजेन्द्र सीका अनुसार ६ हजार ४ सय पर्ने पाइन्ट कोट अहिलेसम्म ४ सयभन्दा बढी बिक्री भएको छ । ५ सय बढीको अर्डर आएको छ ।

पुस पहिलो साता कपिलवस्तुमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी उत्पादनसँग जोडिएपछि सफल परिणाम पाइएको उल्लेख गर्दै राजनीतिक रूपमा सकारात्मक सन्देश गएको प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग कार्यक्रम ‘फायरसाइड’मा गरिएको पछिल्लो संवाद हेर्नुहोसः


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement