काठमाडौं । नेपालका प्रमुख चार दलमध्ये नेकपा एमाले सबैभन्दा धनी देखिएको छ भने अन्य तीन दल घाटामा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६७ वटा दलले आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनबाट यो तथ्य देखिएको हो । निर्वाचन आयोगमा १ सय २१ वटा राजनीतिक दल दर्ता छन् । तर यी सबै दलले लेखा परिक्षण बुझाएका छैनन् । दलहरूको आर्थिक कारोबार पारदर्शी नभएको भन्दै आलोचना भएपछि आर्थिक वर्ष सकिएको ६ महिनाभित्र निर्वाचन आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था गरिएको हो ।
निर्वाचन आयोगमा बुझाइएको लेखा परीक्षण प्रतिवेदनअनुसार ठूला चार दलमध्ये नेकपा एमाले सबैभन्दा बढी आम्दानी गर्ने दल देखिएको छ । एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख आम्दानी गरेको छ । यसैगरी आर्थिक वर्ष २०७९/८० मा ८ करोड ९७ लाख आम्दानी गरेर एमालेले आम्दानी रकम गतवर्ष भन्दा झन्डै दोब्बर बनाएको हो । एमालेले अघिल्लो वर्ष ११ करोड ६० लाख खर्च गर्दा २ करोड ११ लाख घाटामा गएको थियो । गत वर्ष उसले खर्च नै झन्डै ४ करोड घटाएर नाफा गरेको नेकपा एमालेका लेखा विभाग प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेले आम्दानी बढाउँदै खर्च घटाउँदा संसद्को ठूलो दल नेपाली कांग्रेस भने घाटामा देखिएको छ । उसले गत वर्ष २ करोड ५९ लाख आम्दानी गर्दा झन्डै ५ करोड खर्च गरेको थियो । यसैगरी आर्थिक वर्ष ०७९/०८० मा कांग्रेसले ३ करोड ६४ लाख आम्दानी गरेको थियो । त्यतिबेला उसले आम्दानीभन्दा दोब्बर बढी अर्थात झन्डै ८ करोड खर्च गरेको थियो । लेभी र सदस्यता शुल्क उठाउन नसक्दा कांग्रेस घाटामा पुगेको नेपाली कांग्रेसका केन्द्रीय लेखा समितिका संयोजक श्याम घिमिरे बताउनु हुन्छ ।
यता तेस्रो दल माओवादी केन्द्र पनि कांग्रेस जस्तै घाटामा चलिरहेको छ । उसले गतवर्ष १ करोड ८६ लाख आम्दानी गर्दा १ करोड ८५ लाख खर्च गरेको थियो । तर अघिल्लो वर्ष ३ करोड ४८ लाख आम्दानी गर्दा ४ करोड ५९ लाख खर्च गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पनि आम्दानीभन्दा खर्च धेरै छ । आव २०८०/८१ मा ३ करोड ७९ लाख आम्दानी गरेको रास्वपाले ०७९/०८० मा ७ करोड ५० लाख संकलन गरेको थियो । उसको आम्दानी आधा घटे पनि खर्च भने उस्तै छ । दुवै आर्थिक वर्षमा रास्वपाको खर्च चार करोडभन्दा बढी छ ।
राजनीतिक दलहरूले सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, सम्पति बिक्रीलगायतलाई आम्दानीको स्रोतमा देखाउने गरेका छन् । उनिहरूले आम्दानीको श्रोतमा चन्दा देखाएपनि को बाट कति चन्दा आयो खुलाउने गरेका छैनन ।
२५ हजारभन्दा बढी सहयोग गर्नेको नामसहित रकम सार्वजनिक गर्नुपर्ने र ५० हजारभन्दा बढी लिए करसमेत तिर्नुपर्ने कानुनी व्यवस्था छ । जसले गर्दा लेखा परीक्षण प्रतिवेदनमा दलहरूले चन्दा रकम नै नलिएको देखाउने गरेका छन् । नेपाली कांग्रेसले भने यस वर्ष चन्दाबाट आएको १ करोड ३० लाख रकम सबै भूकम्प र बाढी पीडितलाई खर्च गरेको उल्लेख गरेको छ । अन्य पार्टीले भने चन्दा नै नलिएको देखाएका छन् ।